wel come to our link to all my fans we love you

Saturday, August 20, 2011

अमेरिकामा काठमान्डु

डिस्को, डि्रंक्स, ड्रग्स र सेक्स । काठमाडौंको तन्नेरी पुस्तालाई यी चार चीजले कसरी गाँज्दै लगेको छ ? ग्लोबल कल्चरको मनोवैज्ञानिक मार खेपिरहेका सहरको नयाँ पुस्ते यो कथालाई हालै अमेरिकास्थित प्रवासी नेपाली र केही अमेरिकीले हेरे, कथानक चलचित्र 'काठमान्डु' मा । क्यालिफोर्निया ओकल्यान्डस्थित स्कटिस रिट सेन्टरमा फिल्मको पि्रमियर शो गरेर निर्देशक तथा निर्माता आकाश अधिकारी हालै काठमाडौं फिरेका छन् ।

'म किन पनि एकदमै हौसिएँ भने,' अमेरिकी कलाकार रिया मुर्फी समेतले खेलेको फिल्मबारे आकाशले भने, 'फिल्मलाई प्रवासी नेपालीले मात्रै हैन, भारतीय र अमेरिकीले पनि रुचाए ।' काठमाडौं सहरको नयाँ पुस्ते मनोविज्ञान उतारिएको भए पनि विषयवस्तु 'ग्लोबल' भएकाले पनि फिल्मको विश्वव्यापी बजार हुन सक्ने दाबी गर्दै उनले भने, 'अमेरिकी दर्शकहरूले पनि मलाई उत्तिकै धाप मारेका छन् ।'

अमेरिकामा समेत सुटिङ गरिएको फिल्ममा खासगरी अभिभावक र टिनएजर बीचको 'जेनेरेसन ग्याप' को सन्दर्भ उठाउँदै युवा समस्या र मनोविज्ञानलाई चित्रण गरिएको छ । साँझ पर्दै गर्दा डिस्कोतिर पाइला बढाउने युवाहरू, ड्रग्स र डि्रंक्सको कुलतमा फस्ने र प्रेमभन्दा पनि विवाहपूर्व यौनसम्बन्धलाई सहज ठान्नेहरू फिल्ममा छन् । हाम्रा युवाहरू कुन दिशातिर बढिरहेका छन् ? किन उनीहरू लक्ष्यविहीन र निराश छन् ? के यो अवसरको कमीले हो ? कि आधुकिनीकरण या पुस्तैनी अन्तरका कारण ? यी सन्दर्भलाई फिल्मले गम्भीर रूपमा केलाउन खोजेको छ ।

मुख्य पात्र आर्यनको भूमिकामा आकाश स्वयं छन्, जो अमेरिकाबाट फिल्म स्टडी सकाएर 'केही गरौं' भन्ने भावनाका साथ मुलुक फर्किन्छन् । जसै उनी काठमाडौं आइपुग्छन्, आफ्नै परिवारबीचको सम्बन्ध, बुझाइ र व्यवहारमा उनी समस्या देख्छन्, जुन आम सहरी युवा र परिवारबीच अहिले भइरहेको छ । 'यो दोष कसको हो त ? परिवार, समाज, सरकार या अभिभावक ?' फिल्मबारे आकाशले भने, 'सायद यो एउटा ठूलो संक्रमणकाल हो । यसैलाई फिल्ममा उतारिएको हो ।'

रेड सिने फोरके क्यामेरामा खिचिएको फिल्म अन्तर्राष्ट्रिय गुणस्तरको निर्माण गरिएको समेत उनले दाबी गरे । उनका अनुसार हलिउडका गुणस्तरीय फिल्म निर्माण गर्ने हाइ टेक्नोलोजी 'फोरके' प्रयोग गरेको यो पहिलो नेपाली फिल्म हो । 'नेपाली फिल्म उद्योगकै इतिहासमा हामीले पहिलोपटक अनलाइनबाट टिकट बिक्री गर्‍यौं' आकाशले फेरि अमेरिका सम्झे, 'नसोचिएको भीड पायौं ।' गुणस्तर र विषयकै हिसाबले फिल्म विश्वव्यापी रुचिको हुन सक्ने दाबी गर्दै उनले त्यही अनुरूपको बजार प्रवर्द्धन गर्ने समेत बताए । अपि्रलको पहिलो हप्ताबाटै क्यानडा, लन्डन, बेल्जियम, जर्मनी र अमेरिकाको न्युयोर्क, बाल्टिमोर, सिकागो र क्यालिफोर्नियामा पब्लिक शो गर्ने योजना तय भइसकेको पनि उनले बताए ।

'युरोप र अमेरिकामा सकाएपछि मलेसिया र कतारको योजना छ,' उनले भने, 'त्यसपछि मात्र मे महिनामा नेपालमा रिलिज गर्छु ।' द स्काई मुभीको ब्यानरमा निर्मित फिल्ममा उनीसँगै रेश मरहठ्ठा, रिया मुर्फी, गौरी मल्ल, अर्जुन श्रेष्ठ, ममता प्रधान, सुनीलदत्त पाण्डे, सुवर्ण अधिकारी, सुरेश अधिकारी लगायतको अभिनय हेर्न पाइन्छ । निर्माणमा आकाशलाई नवीन वेन अधिकारीले सघाएका छन् ।

No comments:

Post a Comment