wel come to our link to all my fans we love you

Saturday, August 20, 2011

मनिषालाई खेलाउन चाहन्थे डायमनशमशेर


दिवंगत उपन्याासकार डायमनशमशेर राणाको पार्थिव शरिरमा शनिबार फिल्म निर्देशक मनोज पण्डितले आफ्नै डकुमेन्ट्री ‘ग्रेटर नेपाल’को भिसिडी चढाएर श्रद्धाञ्जली व्यक्त गरे ।
तर उनले यसो गर्नुको पछाडी कारण थियो । ‘डकुमेन्ट्रीका लागि उहा“ले विशेष तथ्यहरु उपलब्ध गराउनु भएको थियो’ सुगौली सन्धिमा गुमेको नेपालको सिमाको खोजीबारे बनाईएको ‘ग्रेटर नेपाल’का निर्देशकले भने, ‘डकुमेन्ट्रीमा उहा“ आफैं पनि हुनुहुन्छ ।’ राणाले सन्धिपछि ब्रिटिश सरकारले राणालाई गुमेको भुमि फिर्ता लिने भए एक आधिकारीक चिठी पठाउन भनेपनि उक्त क्षेत्रमा फैलिएको आन्दोलनले देशमा समेत राणा बिरोधी आक्रोश फैलाउ“छ भनी लिन नमानेको तथ्य बताएको निर्देशक पण्डितले बताए ।
‘यो डकुमेन्ट्री हेरेपछि उहा“ आफ्नै उपन्यास ‘गृहप्रवेश’मा फिल्म बनाउन मलाई जोड गर्नु भएको थियो’ पण्डितले भने राणा शासनको वैभव मिश्रित विषयबस्तुमा बनाउन सानो लगानीले नभ्याउने बताएपछि राणाले भनेछन्, ‘उसो भए ‘अनिता’मा बनाउन त, म गिरिजाबाबुलाई भन्दिन्छु, अनि मनिषा (कोइराला)लाई पनि खेलाउ ।’ पण्डितले दुई वर्ष पहिलेको स्मरण गर्दै भने, ‘तर त्यसको स्केल मिट गर्ने गरी फिल्म निर्मातानै पाईएन ।’
‘अनिता’ उपन्यास डायमनशमशेरले प्रजातन्त्रका लागि महिला जागरणका विषयमा लेखेका थिए । तर राणाको उक्त चाहना जीवितछ“दै पूरा हुन त पाएन, तर नीर शाहले राणाकै उपन्यास ‘बसन्ती’मा भने फिल्म बनाएका थिए । चर्चित उपन्यासमा बनाईएको फिल्मले खास चर्चा भने बटुलेन ।
‘वास्तवमा उहा“का साहित्य फिल्म निर्माणका लागि उपयुक्त छन्’ निर्देशक पण्डितले राणाको तथ्यमा कल्पनाशीलताको मिश्रण गरि रोचक बनाउने शैली उत्कृष्ट भएको बताए । त्यसोत उपन्यासकार डा. ध्रुबचन्द्र गौतम उक्त शैलीलाई राणाको विशेषता मान्छन् । ‘ऐतिहासिक यथार्थमा कल्पनाशिलता मिसाएर लेखिएकैले उनका साहित्य गैरसाहित्यीक पाठकमा पनि चर्चित छन् ।’
शब्दबाटै परिवर्तन सम्भव देख्ने उपन्यासकार राणालाई त्यागी नेता मान्छन्, हेमांगराज गिरी । राणाको जीवनीमा आधारित पुस्तक ‘सेकेण्ड लेफ्टिनेन्टदेखि नख्खु दरबारसम्म’का लेखक गिरीले राणाकालमै आफ्नै खानदानको राणा शासनका विरुद्धमा उत्रने हिम्मत गरेर ‘त्याग’ गरेका राणालाई साहित्यले छा“यामा पारेको टिप्पणी गर्छन् । नेपाली का“ग्रेसस“ग आबद्ध राणा कुनैबेला ललितपुरका जिल्ला सभापति समेत भएका थिए । तर २०१७ सालमा पञ्चायती व्यवस्थाले उनलाई छ वर्ष नख्खुजेलको हावा खुवायो । मन बहलाउन त्यहीं उनले आफ्नो पहिलो उपन्यास ‘सेतो बाघ’ (जसको लेखकले राखेको शीर्षक ‘दूरबीनभित्रको नेपाल’लाई साझा प्रकाशनले सम्पादन गरेको) लेखेका थिए । जीवनी लेखनका लागि राणास“ग डेढ वर्षको निकट सम्बन्ध गा“सेका गिरीले राणाले भनेको सम्झिए, ‘तर जेलबाट छुट्दा उहा“ले त्यो लेखोट त्यहीं छोड्न लाग्दा जेलरले लान भनेछन् । पछि राणाको साहित्यीक क्षमता थाहा पाएपछि त विपि कोइरालाले पनि पूर्णरुपमा साहित्यमै लाग्न भनेका रहेछन् ।’ तर उनले साहित्यबाट पनि राजनीतिलाई हेर्न भने छोडेनन् ।
प्रजातन्त्रका लागि लडेका राणा सोचेभन्दा सहजै देशमा गणतन्त्र आएकोमा जति खुशी थिए, अवसरवादी व्यक्तिले त्यसको दुरुपयोग गरेकोमा उत्तिकै चिन्तित पनि । राणा व्यंग गर्थे, ‘आ“प चोरेको अभियोगमा जेल परेका पनि छुटेपछि ‘नेता’ बन्ने परिपाटी भो ।’ तर दाहसंस्कार अघि श्रद्धाञ्जलीका लागि नेपाल प्रज्ञाप्रतिष्ठान राखिएको राणाको पार्थिव शरिरमा पुष्पगुच्छा राख्न साहित्यीक व्यक्तित्वकै हाराहारीमा राजनीतिक नेताहरु पनि रहे । जसमा प्रधानमन्त्री, सभामुखदेखि पूर्वप्रधानमन्त्री, विभिन्न दलका उच्च नेताहरु सामेल थिए । शनिबारै राणाको पशुपति आर्यघाटमा दाहसंस्कार गरियो ।
प्रधानमन्त्री झलनाथ खनालले राणालाई राष्ट्रिय विभुतीका रुपमा लिंदै राणाको सम्मान र उनका कृतिको संरक्षणका लागि सरकारले सक्दो सहयोग गर्न तयार रहेको आश्वासन दिए । खनालले थपे, ‘शोकलाई शक्तिमा बदलेर उहा“को सोच्नु भएको बाटोमा हिड्नु पर्नेछ ।’ स्वर्गिय राणाका छोरा रघुशमशेर राणाले बुबाले सधैं ‘साहित्य उन्नत भएमात्र जनता शिक्षित हुने’ धारणा राख्ने गरेको बताए । तर उनका कुनैपनि उपन्यासलाई सरकारले पाठ्यक्रममा समावेश गरेको छैन ।

No comments:

Post a Comment