wel come to our link to all my fans we love you

Tuesday, August 23, 2011

भर्जिन लोकेसनमा ‘पराई’को छायांकन गर्दैछौं-गोविन्द शाही


दैलेखमा जन्मिएर नेपालगन्जमा हुर्किएका गोविन्द शाही मूलतः तेक्वान्दो तथा बक्सिङका व्यावसायिक खेलाडी हुन्। तेक्वान्दोमा विभिन्न बेल्टहरू हासिल गरिसकेका शाही खेलाडीका रूपमा व्यस्त हुँदाहुँदै अचानक चलचित्र क्षेत्रमा प्रवेश गरे। ५ फिट ९ इन्च अग्लो शरीर, लामो केश तथ नृत्यमा सिपालु भएकाले उनलाई खेलाडी साथीहरूले नै चलचित्रमा अभिनय गर्न सुझाए। उनले केही महिना अभिनयको प्रशिक्षण पनि लिए। सबै कुरामा पारंगत भएपछि उनी चलचित्र नायकका रूपमा काम गर्न तयार भए। तर सोचेजस्तो भूमिका नपाएपछि उनले चलचित्र ‘कहाँ छौ कहाँ’ को निर्माण गर्ने आँट गरे। व्यावसायिक रूपमा सफल भएको यो चलचित्रमा शाहीले नायिका झरना थापाको नायकका रूपमा अभिनय गरेका छन्। दर्शकले उनको अभिनय मन पराए। ‘कहाँ छौं कहाँ’ मा शाहीले मुम्बईमा बेचिएका चेलीहरूको कारुणिक कथालाई चलचित्रको पर्दामा ल्याउने प्रयास गरेका थिए। यो चलचित्रको सफलतापछि शाहीले दोस्रो चलचित्र ‘संसार आफ्नै’ निर्माण गरे। यो चलचित्रमा पनि उनी मुख्य भूमिकामा छन् भने नायिकाका रूपमा झरना थापाले नै साथ दिएकी छिन्। केही महिनापछि प्रदर्शन हुने यो चलचित्रमा सुमन सिंह, सरोज केसी, कमल कृष्ण आदिले पनि अभिनय गरेका छन्। यतिबेला नायक तथा निर्माता शाही धम्पुसमा छन्। शिव रेग्मीले निर्देशन गरिरहेको चलचित्र ‘पराई’ का नायक शाहीले यसपटक नायिका गरिमा पन्तको साथ पाएका छन्। नायक शाहीसँग छोटोमीठो कुराकानी :



खेलाडीका रूपमा सफल हुँदाहुँदै नायक बन्ने जाँगर कसरी चल्यो ?
खेलाडीका रूपमा स्थापित हुन मैले धेरै संघर्ष गरेको थिएँ। सक्रिय खेलाडीका रूपमा रहन उमेरले साथ दिँदैन। यसबाहेक आफूमा भएको कला प्रदर्शन गर्न पनि मैले चलचित्र क्षेत्रमा प्रवेश गर्ने निर्णय गरेको हुँ।
आफूले अभिनय गर्ने चलचित्रका द्वन्द्वका दृश्य त आफैं कम्पोज गर्नुहुन्छ होला नि ?
चलचित्रको द्वन्द्व र वास्तविक खेलकुदमा धेरै फरक छ। चलचित्रको द्वन्द्वका लागि द्वन्द्व निर्देशक नै चाहिन्छ। यद्यपि म बक्सिङ र तेक्वान्दोमा निपूर्ण भएकाले द्वन्द्व निर्देशकलाई चाहिँ सजिलो भएको छ।
तपाइ त एक्सन नायक हुनुपर्ने होइन र ?
वास्तवमा म एक्सन नायक नै हुँ तर दर्शकले मलाई रोमान्टिक नायकका रूपमा चिनेका छन्। ‘कहाँ छौं कहाँ’ को मेरो स्टन्टबाट दर्शकले प्रसस्त मनोरञ्जन लिए। ‘संसार आफ्नै’ मा पनि द्वन्द्वका दृश्यमा मैले राम्रो काम गरेको छु। ‘पराई’ मा पनि मेरा थुप्रै द्वन्द दृष्य छन्।
प्रायः आफैंले लगानी गरेका चलचित्रमा मात्र अभिनय गर्नुहुन्छ नि ?
यो चाहिँ मेरो रहर हो। म एक्लै होइन हामी चार-पाँच जना दाजुभाइ मिलेर एउटा ब्यानर स्थापना गरेका छौं। त्यो ब्यानरबाट वर्षमा दुई वटा चलचित्र निर्माण गर्ने निर्णय गरेका छौं। एक वर्षमा दुईभन्दा बढी चलचित्रमा समय दिन नसकिने भएकाले पनि मैले अन्य निर्माताको चलचित्रमा काम नगरेको हुँ।
शिव रेग्मी निर्देशित ‘पराई’को छायांकनका लागि हिमाली क्षेत्र छान्नु भएछ नि ?
अधिकांश नेपाली चलचित्रमा पोखरा, काठमाडौं, चितवन तथा क्लाइमेक्समा चोभार देखाउने परम्परा छ। ‘पराई’ मार्फत हामी त्यो परम्परा तोड्दै छौं। यसपटक हामी धम्पुस, घान्द्रुक, घोडेपानी, पुनहिल, जोमसोम आदि भर्जिन लोकेसनमा चलचित्रको छायांकन गर्दैछौं।

No comments:

Post a Comment