wel come to our link to all my fans we love you

Tuesday, August 9, 2011

दसैंका १० रंग-केकी अधिकारी (चलचित्र नायिका)

पूजापाठः

म नियमित पूजापाठ गर्नेमा पर्दिनँ, तर भगवानप्रति भने मेरो ठूलो आस्था एवं विश्वास छ । मन्दिरहरू त्यति नगए पनि घरमा हुने पूजामा भने जसरी भए पनि बस्छु ।  मलाई घण्टीको आवाजले एकदमै आनन्द दिन्छ । दसैंमा भ्याएसम्म भगवतीको पूजामा सहभागी भै प्रसाद लगाउने गरेकी छु ।

जमघटः

म घरेलु जमघटमा रमाउने स्वभावकी छु । मलाई दसैंको सबैभन्दा राम्रो पक्ष यही लाग्छ । बाबा -निर्देशक बद्री अधिकारी) घरको ठूलो छोरा भएकाले सबै आफन्तजनको  जमघट हाम्रै घरमा हुन्छ । दिदीबहिनीहरूसँग जिस्केर, नाचेर रमाइलो गर्दा म निकै खुसी हुन्छु । त्यसैले मेरो लागि दसैं नै सबैभन्दा ठूलो उत्सव हो ।

खानपानः

अहिले मासु खानका लागि दसैं नै आउनुपर्छ भन्ने छैन । तथापि दसैं भन्ने बित्तिकै मासुको कुरा आइहाल्छ । दिनहुँ मासुको परिकार खाँदा-खाँदा वाक्क लाग्ने भए पनि दसैंको मासुको परिकारले लोभ्याउँछ । दसैंका बेला घरमै विभिन्न परिकार बनाइने भएकाले यतिबेला म अन्तभन्दा घरमै बस्न मनपराउँछु । मासुबाहेक मलाई विभिन्न  साकाहारी परिकार पनि उत्तिकै स्वादिला लाग्छन् ।

मनोरञ्जनः

मेरो ठट्टा अनि रमाइलो गरिरहनु पर्ने बानी छ । कलेजका साथीहरूसँग त्यसरी नै समय बितिरहेको हुन्छ । दसैंमा कलेजको लामो छुट्टी हुने भएकाले पढाइको टेन्सन हुँदैन ।  त्यसैले निर्धक्कसँग रमाइलो गर्न पाइन्छ । यतिबेला म हेर्न छुटेका चलचित्रहरू हेरेर सिध्याउँछु र आफन्तहरूसँग तास पनि खेल्छु । मलाई तासमा हार्दाचाहिँ साह्रै  नरमाइलो लाग्छ ।

सरसफाइः

कोठा सजाउन र घर सिंगार्न जागर चल्ने हुनाले सरसफाइ गर्ने जिम्मा सधैं मेरै हुन्छ । सजावटका सामग्रीहरू किन्न र कोठाहरू राम्रोसँग मिलाउन मज्जाले समय पाउने  हुनाले म घरको सरसफाइमा विशेष ध्यान दिन्छु । दसैंका बेलामा त झन फुर्सद पाइने भएकाले मेरो पहिलो प्राथमिकता नै घरको सफाइ हुने गरेको छ । 

घुमफिरः

म घुमफिर गर्न त्यति रुचाउदिनभन्दा अचम्म लाग्नसक्छ । वास्तवमा मलाई घरमै बसेर समय बिताउन मन लाग्छ, तर परिवारसँग कतै जाने हो भने त्यो मेरा लागि  गतिलो घुमफिर हुन्छ । नत्र प्रायःजसो म साथीभाइहरूलाई घरमै बोलाएर रमाइलो गर्न रुचाउँछु ।

किनमेलः

यो विषयमा म अनभिज्ञ नै छु  किनभने मलाई किनमेल गर्न पनि त्यति मन लाग्दैन । एकदमै समय लाग्ने भएकाले त्यो काम अरूले नै गर्नुहुन्छ । आफूलाई चाहिएका  सामान किन्न म धेरै समय लगाउँदिन । बार्गेनिङ गर्ने वा लामो समय लगाएर सामान छान्ने मेरो बानी छैन । घरका सामानहरू किन्न भने बाबा-आमा नै जानुहुन्छ ।

परिवारसँग सामीप्यताः

दसैं-तिहारजस्ता चाडवाडले परिवारका प्रायः सबैसँग भेटघाट गराउने हुनाले यसले उनीहरूलाई नजिक बनाउने काम गर्छ । म एकैछिन पनि परिवारबाट टाढा हुन सक्दिन ँ । केही दिनमै मलाई 'होमसिक' हुन थाल्छ । अरूबेला व्यस्तताका कारण परिवारलाई समय दिन नसके पनि चाडबाडमा परिवारका सदस्यहरूसँगै हुन्छन्, जुन मलाई  एकदम राम्रो लाग्छ । म यो बेला परिवारसँगै सारा समय बिताउँछु ।

संस्स्कृतिक आदान-प्रदानः

संस्कृतिले नै हाम्रो मौलिकताको परिचय दिन्छ । दसैं धार्मिक पर्व मात्र नभएर सांस्कृतिक मूल्य-मान्यता बोकेको चाड हो । दसैंले एउटा पुस्ताबाट अर्को पुस्तामा हाम्रो संस्क ृति हस्तान्तरण गर्ने काम गर्छ यसबाट हाम्रो संस्कृतिको संरक्षण हुने त छँदैछ चाडपर्वको महत्त्व पनि मौलाउँदै जान्छ । सानोले ठूलाप्रति प्रकट गर्ने आदर एवं ठूलाको  आशीर्वाद लिने चलन हाम्रो संस्कृतिमा मात्रै छ । यसले हामीलाई असल संस्कार दिन्छ ।

आर्थिक व्यवस्थापनः

दसैं जस्ता पर्वमा कतिसम्म खर्च गर्ने, किनमेल कहिले र कसरी गर्ने, कसरी घरमा आवश्यक चिजबिज जुटाउने जस्ता कुराको व्यवस्थापन गर्दा आफ्नो क्षमतामा भार  नपर्ने हिसाबले गर्नुपर्छ । अर्काले हात्ती चढ्यो भने आफू घरको धुरी चढ्ने काम गर्नु हुँदैन । अनावश्यक खर्च गर्नुहुँदैन । नत्र आयो दसैं ढोल बजाई, गयो दसैं ऋण बोकाई  भन्ने उखान चरितार्थ हुनसक्छ ।

No comments:

Post a Comment